
जनप्रतिनिधित्वबिना कर लगाउन नहुने -नो टेक्सेसन विद्आउट रिप्रेजेन्टेसन) प्रजातन्त्रको आधारभूत मान्यता हो । वर्षौंदेखि नेपालमा जनप्रतिनिधित्वविहीन व्यवस्था क्रियाशील छ , जसले बेरोकटोक जनतासँग कर असुलिरहेको छ । जनप्रतिनिधित्वविहीन राज्यले जनतासँग कर असुली गर्नु प्रजातन्त्रका मूलभूत अवधारणाविपरीत कार्य हो । प्रजातन्त्र भन्नु स्वशासन हो र जनताको सहमतिबिना जनताको हित एवम् स्वार्थलाई प्रभावित गर्ने निर्णय गर्ने अधिकार कसैलाई पनि छैन । जनताको स्वतन्त्र सहमति मात्र शासकको वैधताको आधार हुनसक्छ ।
जनप्रतिनिधिद्वारा निर्मित कानुनद्वारा मात्र जनताको सम्पत्तिबाट कर असुली हुनसक्छ भन्ने सार्वभौमिक एवम् विश्वव्यापी मान्यता हो । जनप्रतिनिधित्वविहीन सरकार जनताप्रति कहिल्यै उत्तरदायी एवम् जवाफदेही हुनसक्दैन । यस्तो सरकारलाई जनताको जीवन , स्वतन्त्रता एवम् सम्पत्तिबारे निर्णय लिने अधिकार छैन । नागरिकको सम्पत्तिसम्बन्धी हकलाई संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । यस हकबाट नागरिकलाई वञ्चित गर्न मिल्दैन । जनताको सम्पत्तिबाट स्वयम् जनताका निर्वाचित प्रतिनिधिहरूले कानुन निर्माण गरेर मात्र कर असुल्न सक्छन् ।
नेपाल अधिराज्यको संविधान , २०४७ राजनीतिक संविधानवादको सिद्धान्तका साथै आर्थिक संविधानवादमा पनि आधारित छ । राजनीतिक संविधानवादले राज्यको प्रजातान्त्रिक संरचनालाई व्यवस्थित गरेको हुन्छ भने आर्थिक संविधानवादले राज्यको ढुकुटीलाई जनताको नियन्त्रण एवम् निगरानीमा राखेको हुन्छ । राजनीतिक संविधानवादलाई सुनिश्चित गर्न नागरिकका प्रजातान्त्रिक अधिकार , स्वतन्त्रता एवम् प्रजातान्त्रिक संयन्त्र र संस्थाहरू निर्मित गर्न आवश्यक छ । आर्थिक संविधानवादलाई सुनिश्चित गर्न राष्ट्रिय ढुकुटी तथा सम्पत्तिमाथि जनताको रेखदेख एवम् नियन्त्रण स्थापित हुनुपर्दछ ।
आर्थिक संविधानवादलाई सुनिश्चित गर्न संविधानको भाग १० द्वारा आर्थिक कार्य प्रणालीसम्बन्धी विस्तृत व्यवस्था गरिएको छ । यस भागमा सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई रोक्न तमाम संवैधानिक बन्दोबस्तहरू गरिएको छ । त्यसैगरी संविधानमा महालेखा परीक्षकको पनि व्यवस्था छ । राजनीतिक संविधानवाद एवम् आर्थिक संविधानवाद एकअर्काका पूरक हुन् । आर्थिक संविधानवादको अभावमा राजनीतिक संविधानवादले पूर्णता प्राप्त गर्न सक्दैन ।
जनप्रतिनिधित्वको अभावमा राज्यले जथाभावी एवम् स्वेच्छाचारी ढङ्गले कर असुलेर त्यसबाट उठेको पैसालाई जनताविरुद्ध नै प्रयोग गरिने प्रक्रिया एवम् प्रणाली निश्चय पनि न्यायसङ्गत हुनसक्दैन । जनताको प्रतिनिधित्वबिना कर उठाउन पाइँदैन भन्ने आधारमा विश्वका ठूल्ठूला प्रजातान्त्रिक लडाइँहरू लडिएका छन् । उत्तरदायित्वपूर्ण शासनको अभावमा सार्वजनिक धनको सदुपयोग हुनसक्दैन भन्ने तथ्य स्वतः सिद्ध छ । जनताबाट विवेकपूर्ण एवम् न्यायसङ्गत ढङ्गले कर असुल्न एवम् त्यसको औचित्यपूर्ण व्ययका लागि जनप्रतिनिधित्वमा आधारित शासन आवश्यक हुन्छ । शासनको प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिताबिना शासनलाई जवाफदेही एवम् उत्तरदायी तुल्याउन सकिँदैन । तसर्थ जनताको सहमतिबिना शासनको वैधता स्थापित हुँदैन । र , अवैध सरकारलाई जनताको ' पर्स ' माथि कुनै पहुँच हुनुहुँदैन ।
संविधानको धारा ७३ मा जनप्रतिनिधिहरूद्वारा निर्मित कानुनको अख्तियारीबिना सरकारले कुनै कर असुल्न नपाउने स्पष्ट व्यवस्था छ । त्यसैगरी धारा ७४ ले सार्वजनिक सम्पत्तिलाई जनप्रतिनिधिहरूको रेखदेख एवम् नियन्त्रणमा राख्न सञ्चित कोषको व्यवस्था छ । सञ्चित कोषको रकम जनप्रतिनिधिहरूले निर्मित गरेको कानुनको अख्तियारीबिना खर्च गर्न नपाइने प्रावधान पनि संविधानमा छ । तर , हाल अनिर्वाचित सरकारले अध्यादेश जारी गरेर संविधानका यी प्रावधानहरूको खुला उल्लङ्घन गर्दैछ । संविधानका स्पष्ट प्रावधानलाई अध्यादेशद्वारा निरस्त तुल्याउने अनौठो प्रणाली सुरु गरिएको छ । संविधानवाद एवम् संवैधानिक सर्वोच्चताको सिद्धान्तको यो सर्वथा उपहास हो । प्रतिनिधित्वबिना विवेकहीन ढङ्गले जनतासँग कर असुल नगरियोस् भनेरै जनप्रतिनिधिद्वारा निर्मित कानुनअन्तर्गत मात्र कर लगाउन पाइने व्यवस्था गरिएको हो । कर लगाउने कुरामा जनप्रतिनिधित्वको सिद्धान्तलाई जोड दिँदै संविधानको धारा ६८ ले अर्थ विधेयक प्रतिनिधिसभामा मात्र प्रस्तुत हुनसक्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
जनतासँग कर उठाउने एवम् सार्वजनिक ढुकुटीको प्रश्न राज्यव्यवस्थाको केन्द्रीय प्रश्न हो । राज्यले बिनाअंकुश जथाभावी कर लगाउने र त्यसबाट उठेको रकमलाई बिनाजवाफदेही खर्च गर्ने हो भने जनताको आर्थिक , सामाजिक प्रगति सम्भव छैन । जब कि हाम्रो संविधानले ' नेपाली जनतालाई चिरकालपर्यन्त राजनीतिक , सामाजिक एवम् आर्थिक न्याय प्रदान गर्ने ' आधारभूत लक्ष्य बोकेको छ ।
आज गरिब नेपालीको कठिन परिश्रमद्वारा आर्जित सम्पत्तिमाथि अवैधानिक ढङ्गले कर असुल्ने कार्य मात्र भइरहेको छैन , सो रकम अनिर्वाचित सरकारले अपारदर्शी एवम् अनुत्तरदायी ढङ्गबाट खर्च गरिरहेको छ । जनताको करको पैसालाई जनतालाई नै दमन गर्ने एवम् जनविरोधी कार्यमा खर्च भइरहेको छ । जनप्रतिनिधिहरूको अख्तियारीबिना यस्ता कार्यहरू भइरहेका छन् । संविधानको धारा ७७ अनुसार संसद्को संयुक्त बैठकमा वाषिर्क बजेट पेस गर्नुपर्नेमा त्यसविपरीत अध्यादेशद्वारा बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संसद्को अख्तियारीबिना राष्ट्रको ढुकुटीबाट रकम खर्च गर्ने कसैलाई अधिकार हुनसक्दैन ।
जनताको सम्पत्तिलाई आज जनताको अख्तियारीबिना जथाभावी एवम् नाजायज ढङ्गले खर्च गरिँदैछ । दुरुपयोगको मात्रामा अत्यधिक वृद्धि भएको छ । स्वास्थ्य , शिक्ष्ाा एवम् जनकल्याणजस्ता विषयमा रकमको भारी कटौती गरी सैनिकीकरण गर्न खर्चको मात्रा अत्यधिक बढाइएको छ । जनताको करको पैसाको दुरुपयोग गरी तमाम आयोग एवम् पदहरू सिर्जना गरी प्रजातान्त्रिक संस्था एवम् प्रक्रियालाई निरीह एवम् कमजोर तुल्याइएको छ । सरकारको खर्चको प्रक्रियालाई नियन्त्रण एवम् निगरानी गर्ने कुनै संस्था वा प्रक्रिया छैन । महालेखा परीक्षकजस्ता संवैधानिक अङ्गको भूमिका निस्तेज एवम् अप्रभावकारी भएको छ । आर्थिक संविधानवादको पूर्ण धज्जी उडाइएको छ ।
यस्तो परिस्थितिमा नेपाली जनतासमक्ष्ा एउटै विकल्प छ , अवैधानिक एवम् अनिर्वाचित सरकारलाई कुनै कर नतिर्ने ! किनभने ' प्रतिनिधित्वबिना कर लगाउन पाइँदैन ' भन्ने सर्वमान्य विश्वव्यापी सिद्धान्त हो । आज राज्यव्यवस्थामा जनताको कुनै सहभागिता एवम् प्रतिनिधित्व छैन , तसर्थ यस्तो राज्यलाई जनता कर तिर्न बाध्य छैनन् । |